पोखरा महानगरले आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाउँदै

पोखरा : पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो ।

पोखरा न्युरोड क्षेत्रबाट अन्डरग्राउन्डमा प्रयोजन विपरीत बनेका संरचना हटाइने र अटेरी गरे डोजर चलाएर भए पनि खाली गरिने महानगरले जनाएको छ।

पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।

तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो ।

अनुगमनका क्रममा मेयर आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनीसमेत दिएका थिए ।

पोखरामा २ सय ५० भन्दा बढी भवन अन्डरग्राउन्ड सहितका छन् । तर, त्यसमध्ये अहिले आधाभन्दा बढीले महानगरको सूचना पछि आफैं अन्डरग्राउन्डमा बनेका संरचना हटाइसकेका छन् । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपसम्म सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?