आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनका बेला ७२ घन्टाका लागि नेपाल र भारतको विहारसँगको सीमा सिल गरिने भएको छ ।
मङ्गलबार भारतको विहारस्थित रक्सौलमा बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले आगामी निर्वाचनका लागि मंसिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो । बैठकमा भारतको विहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी ब.सु.पूर्व र पश्चिमका सीमा २०७९ मंसिर २ देखि ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको छ ।
प्रतिनिधि मण्डलमा नेपाली टोलीको नेतृत्व नवलपरासी ब.सु.पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका जिल्लाका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी श्री सिरसत कपिल अशोकले गरेका थिए । बैठकमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी/सहायक प्रमुख जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको उपस्तिथि रहेको थियो ।
निर्वाचनका विषयका साथसाथै सूचना प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि), मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदान प्रदान गर्ने विषयमा पनि बैठकमा छलफल र समझदारी भएको छ ।
भारतीय प्रतिनिधि मण्डलमा विहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?