भोलि आँधीमूलमा एकादशी मेला लाग्ने

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष पनि एकादशी मेला लाग्ने भएको छ। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले भोलि एकादशी मेला सञ्चालन गर्न लागिएको हो।

कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो।  पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ।

आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ। आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन्।

यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ। आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन्।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो। जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ।

मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ।

गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ।

आँबुखैरेनी गाउँपालिकाले हरिबोधनी एकादशीको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार गाउँपालिकाको कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, सवैविद्यालय बन्द, बैँक तथा वित्तिय संस्था, निजी संघसंस्था र निकायहरुमा विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

तस्बिर फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?