स्वतन्त्र चुनाव जितेका मनाङे किन राष्ट्रिय दल नै नबनेको पार्टी प्रवेश गरे होलान् ? यसको सम्बन्ध अबको गण्डकी प्रदेश सरकार गठनसँग जोडिन्छ ।
हालको गठबन्धन कायम रहेको अवस्थामा गण्डकीमा गठबन्धनकै सरकार बन्छ । गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १८ वटामा कांग्रेस, १२ वटामा एमाले, ४ वटामा माओवादी केन्द्र, एउटामा नेपाल समाजवादी पार्टी र एउटा क्षेत्रमा मनाङे निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशसभा ६० सदस्यीय छ । अब २४ जना समानुपातिकबाट आउने छन् । बहुमत पुर्याउन चाहिने ३१ सांसद गठबन्धनसँग पुग्नेछ । समानुपातिकबाट एमालेले १०, कांग्रेसले ९, माओवादीको ३ र राप्रपाले २ जना सांसद पाउने देखिन्छ ।
समानुपातिकसहित कांग्रेसको २७, एमालेको २२, माओवादीको ८ (नेसपासमेत) हुन्छन् । कांग्रेस र माओवादी मिल्दा ३५ जना अर्थात स्पष्ट बहुमत पुग्छ ।
मनाङेले निकालेको विज्ञप्ति २०७८ साल २९ जेठमा गठबन्धनको सरकार बनाउँदा मनाङे निर्णायक भूमिकामा थिए । उनी कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चासँग मिल्दा ३१ अर्थात बहुमत पुगेको थियो ।
अबको सरकार गठबन्धनमा कांग्रेस र माओवादीकै बहुमत पुग्ने भएपछि मनाङे हाल गण्डकीमा रहेको गठबन्धनमा निरन्तर रहनेवाला थिएनन् । यसो हुँदा उनी सत्ताबाट बाहिर रहन्थे र स्वतन्त्र सांसदको भूमिका मात्र हुन्थ्यो । अर्थात मनाङे प्रतिपक्षी बन्नेवाला थिए । हालकै गठबन्धन कायम रहने अवस्थामा भागवण्डा पाउनलाई र फेरि सत्तामा रहन उनले समाजवादी रोजेका हुन् ।
गण्डकी प्रदेशबाट एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एक सिट पनि जितेको छैन । उसले यो प्रदेशसभाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र जितेको छैन । समाजवादीले गठबन्धनबाट प्रतिनिधिसभामा कास्की २ र प्रदेशसभामा नवलपुर २ (२) मा सिट पाएको थियो । तर, दुवै क्षेत्र एमालेले जितेको छ ।
गण्डकीमा एकीकृत समाजवादी कतिसम्म कमजोर देखिएको छ भने प्रदेशसभाको समानुपातिकमा उसलेभन्दा संगठन नै नभएको हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले ३ हजार बढी मत पाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा पनि समाजवादीले भन्दा राष्ट्रिय जनमोर्चाले बढी मत पाएको छ ।
मनाङे प्रवेश गरेसँगै प्रदेशसभामा पहिलोपटक गण्डकी प्रदेशसभामा एकीकृत समाजवादीको प्रतिनिधित्व हुनेछ । यसअघिको प्रदेशसभामा एमालेका २७ जना सांसदमध्ये कसैले पनि यो पार्टी रोजेका थिएनन् ।
मनाङेले गण्डकीमा निकै कमजोर देखिएको समाजवादी किन रोजे ? यो पार्टी मनाङेको सत्तालाई निरन्तरता दिने भर्याङ मात्र हुनेछ । मनाङे कांग्रेस, माओवादी प्रवेश गरेको भए सत्तामा जान असजिलो थियो जति समाजवादी प्रवेश गरेर भएको छ । कांग्रेस वा माओवादी गएको भए आकांक्षी धेरै हुँदा मन्त्री भइरहन सजिलो थिएन ।
समाजवादीले गण्डकी सरकारमा गठबन्धनबाट अब एउटा मन्त्रालय पाउने पक्का छ । जसमा आफू प्रवेश गरेपछि सत्तामा जान निर्विकल्प हुने बुझेका मनाङेले त्यही कारण समाजवादी रोजेका हुन् ।
मनाङेले भने आफ्नो उद्देश्यसँग मेल खाने नीति समाजवादीसँग भएकाले उक्त पार्टी रोजेको दाबी गरेका छन् । ‘मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेकका राजनीतिक पार्टीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रहेको र त्यसमा रकेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोँणबाट प्रभावित भइ आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
मनाङे समाजवादी प्रवेश गरेसँगै हालकै सत्ता गठबन्धन कायम रहेको अवस्थामा एमाले र राप्रपा गण्डकी प्रदेशसभामा प्रतिपक्षी रहने छन् ।
शिलापत्र













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?