दमौली : तनहुँको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गरेका उनीहरुको फार्ममा हाल १९ हजार कुखुरा छन्। ९ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन्।
दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताए।
उनका अनुसार हालसम्म फार्ममा ६ करोड रुपैयाँ बढी लगानी भएको छ। उनले भने, ‘फर्ममा नौ जनाको परिवारले रोजगारी पाएका छन्। व्यवसाय सञ्चालन गर्दा मासिक ३५ लाख खर्च हुने गरेको छ। उन्नाइस हजार कुखुरालाई दैनिक करिब एक लाख २० हजार खर्च हुन्छ। आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौं।’
करिब त्रिपन्न रोपनी क्षेत्रफलमा छवटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए। फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष लगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताए। ‘चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउनका लागि ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ। अण्डा निर्यात पोखरा, काठमाडौं र चितवनमा गर्दै आएका छौं,’ उनले भने, ‘स्थानीय बजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैनन्।’
फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छन्। लामो समयदेखि आवद्ध भएको हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए। ‘व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै त्यो भन्दा बढी मलाई आत्मसन्तुष्टि मिलेको छ’, सञ्चालक थापाले भने।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?