मुग्लिन : नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि बन्द नहुने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसो चार घन्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो ।
माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।
नारायणगढ–मुग्लिन आयोजनाका प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनवटाको भित्तो काट्ने काम सकिएको छ ।
उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?