तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, कमलबारीस्थित गोल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आइतबार बिहान अनियन्त्रित भई सडकमा पल्टिँदा मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी २६ वर्षीय चालक अजय थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थिङलाई उद्धार गरी तत्काल प्रदेश अस्पताल दमौली लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै बिहान करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीले जानकारी दिनुभयो।
दुर्घटनामा ट्रकका सहचालकसमेत घाइते भएका छन्। उनको घुँडामा चोट लागेको र स्थानीयस्तरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको भए पनि पृथ्वी राजमार्गको सवारी आवागमन भने पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?