काठमाडौं : सामाजिक सञ्जालबाट जोडिएर विवाहित पुरुषलाई हनी ट्रयापमा पारी रकम असुल गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई तारकेश्वर बस्दै आएका राजु खत्री र सिन्धुली घर भई सानोठिमी भक्तपुर बस्दै आएकी ‘आयुष्मा’ भन्ने आसिका रजल मगर रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब एक महिनाअघि एक व्यक्तिले आफूलाई हनी ट्रयापमा पारी ४० लाख रुपैयाँका आठ ओटा चेक काट्न लगाएको भन्दै उजुरी दिए । ती पीडितका अनुसार उनलाई सबैभन्दा पहिले ‘आयुष्मा’ नामबाट फेसबुकमा रिक्वेस्ट आयो ।
कुरा गर्दै गएपछि उनीहरूले खाजा खाने बहानामा ती पीडितसँग रेस्टुरेन्टमा भेटघाट गरे । त्यसपछि पीडितलाई विभिन्न मुद्दा लगाइदिन्छु भनेर डर धम्की देखाएर आठ ओटा चेकमा ४० लाख रुपैयाँ दिन बाध्य पारे ।
त्यसपछि ती युवकले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । उजुरीपछि प्रहरीको अनुसन्धान टोलीले उक्त कार्यमा संलग्न दुई जनालाई मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
“चेकमा नाम नलेखेर रकम मात्र उल्लेख गर्न भनेका रहेछन्,” उनले भने, “रकम निकाल्न नपाउँदै हामीले पक्राउ गर्यौं ।” उक्त कार्यमा संलग्न तीन जना भए पनि एक जना भने फरार रहेको रेग्मीले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहले उपत्यकाका विभिन्न ठाउँमा युवतीहरू परिचालन गरेको र उनीहरूमार्फत विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमा जोड्ने गरेको देखिएको छ ।
प्रहरीका अनुसारमा उनीहरूले सामाजिक सञ्जालमा जोडिएपछि खाजा खाने बहानामा रेस्टुरेन्टमा भेट गर्ने र उक्त व्यक्ति फर्किएपछि उसको घरको ठेगाना, पारिवारिक अवस्था, कार्यालय, सवारी साधन आदि विवरणहरू डायरीमा टिप्ने गर्छन् । त्यसपछि ती पीडितलाई प्रत्यक्ष भेटेर झुटा मुद्दा लगाएर फसाइदिने भन्दै ब्ल्याकमेल गरी ठूलो रकम माग गर्छन् ।
पक्राउ परेका दुई जनालाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएकाे र अर्का एक फरार व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?