व्यास नगरपालिकाको निर्णय: निर्माण व्यवसायीलाई सात दिनभित्र प्रतिबद्धता पेश गर्न निर्देशन

दमौली– व्यास नगर कार्यपालिकाको २४३औँ नियमित बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले नगर विकास, सार्वजनिक खरिद, भवन निर्माण, कृषि, आर्थिक व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सात महत्वपूर्ण निर्णय गरेको नगरपालिकाले जनाएको छ।

बैठकले वडा नं. ११ स्थित विद्या पोल्ट्री एण्ड कृषि फर्म प्रालिलाई व्यावसायिक कृषि प्रयोजनका लागि खरिद–बिक्री भएको जग्गाको रजिस्ट्रेसनमा प्रचलित कानूनअनुसार राजस्व छुट उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै, वडा नं. ७, ९, १० र ११ मा सञ्चालनमा रहेका अधुरा निर्माण आयोजनाको समीक्षा गर्दै सार्वजनिक खरिद (पन्ध्रौँ संशोधन) नियमावली, २०८२ बमोजिम सम्बन्धित निर्माण व्यवसायीलाई सात दिनभित्र नगरपालिकामा उपस्थित भई निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता (Commitment) पेश गर्न निर्देशन दिने निर्णय गरिएको छ।

बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम आगामी भदौ २२ गते आयोजना गर्ने तथा आवश्यक व्यवस्थापनका लागि नगरपालिकालाई निर्देशन दिएको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक खरिद नियमावलीअनुसार रु. १४८ करोडसम्मका निर्माण सामग्री, इन्धन, मेसिन उपकरण तथा मर्मतसम्भारसम्बन्धी खरिद कार्यको जिम्मेवारी समेत तोकेको छ।

यसैगरी, निर्माण व्यवसायी दर्ता तथा सूचीकरण सम्बन्धी कार्यविधि, २०८३ पारित गर्ने तथा व्यास नगरपालिकाको ‘भवन निर्माण मापदण्ड, २०८२’ र ‘कल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८०’ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ।

नगरपालिकाले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक कदम चालिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?