शुक्लागण्डकीमा छुवाछुत उन्मूलन दिवस विविध कार्यक्रमसहित सम्पन्न

दुलेगौडा । शुक्लागण्डकी नगरपालिकामा २०औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाइएको छ।

नगरस्तरीय दलित सञ्जाल शुक्लागण्डकी नगर समितिको आयोजनामा बिहीबार नगरपालिकाभित्रका दलित समुदायले सांस्कृतिक झाँकीसहित र्‍याली तथा शक्ति प्रदर्शन गर्दै दिवस मनाएका हुन्। विपीचोकदेखि नगरपालिकासम्म आयोजित र्‍यालीपछि नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले जातीय भेदभाव अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। उनले जातभन्दा वर्गका आधारमा विभेद बढी देखिने गरेको उल्लेख गर्दै दलित समुदायको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि स्थानीय सरकारले विभिन्न पहल गरिरहेको बताए। जातीय विभेदले समाजमा असन्तोष र विद्रोहको अवस्था सिर्जना गर्न सक्ने भएकाले नगर सरकार यस्ता विकृतिविरुद्ध दृढतापूर्वक उभिएको उनको भनाइ थियो।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले सामाजिक रूपमा विभेदका अवशेष अझै कायम रहेको भन्दै कानुनको प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको बताए। पूर्व उपप्रमुख सविता रसाइलीले दलित समुदायमाथि हुने असमान व्यवहार अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै त्यसविरुद्ध एकताबद्ध भएर संघर्ष गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष रविचन्द्र पौडेल, वडा नम्बर ७ का अध्यक्ष खड्कसिं थापा तथा कार्यपालिका सदस्य खिमबहादुर कुमालले परम्परा, संस्कार र धर्मका नाममा कायम रहेको जातीय भेदभावलाई सामूहिक प्रयासमार्फत निर्मूल पार्नुपर्नेमा जोड दिए।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का अध्यक्ष कुलकुमार कुमाल तथा गुरुङ–मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले उपेक्षित समुदायले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै राज्यस्तरबाट प्रभावकारी पहल आवश्यक रहेको बताए। उनीहरूले परिवर्तनका लागि उत्पीडित तथा उपेक्षित समुदायबीच एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

विश्व हिन्दु महासंघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले धर्मले कुनै पनि प्रकारको विभेदलाई स्वीकार नगर्ने स्पष्ट पार्दै समाजमा विद्यमान विभेदपूर्ण व्यवहार अन्यायपूर्ण रहेको बताए।

सञ्जालका संयोजक सन्तोष विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित अधिकारकर्मी तथा अभियन्ताहरू विलास परियार, भरत लामगादे, जनार्दन वियोगी नेपाली, दीपेन्द्र परियार, जौमाया सुनार र कोपिला परियारलगायतले जातीय विभेद व्यवहारिक रूपमा अन्त्य हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताए।

नगरपालिकाका विभिन्न क्षेत्रबाट दलित समुदायको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा गायक यामसागर विक र कलाकार दिवस परियारले सांस्कृतिक प्रस्तुति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?