दमौली, जेठ २७ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँमा एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल पत्रकार महासङ्घ केन्द्रको देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रशासन कार्यालय परिसरमा धर्ना दिइएको हो। महासङ्घले उक्त निर्णयले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको आर्थिक स्थायित्व तथा लोकतान्त्रिक मूल्य–मान्यतामा प्रतिकूल प्रभाव पार्ने जनाएको छ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पदाधिकारी, सदस्य तथा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।
महासङ्घ तनहुँ शाखाले आन्दोलनका थप कार्यक्रमअन्तर्गत जेठ २९ गते पनि सोही समय र स्थानमा धर्ना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णय तत्काल पुनर्विचार गरी सच्याउन सरकारसँग माग गरेको छ। सञ्चार क्षेत्रको दिगोपना, पत्रकारिताको व्यावसायिकता तथा नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा महासङ्घले जोड दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?