व्यास नगरसभाबाट १ अर्ब ५० करोडको बजेट प्रस्तुत, ३१३ बुँदे नीति तथा कार्यक्रम पारित

दमौली, असार १० — व्यास नगरपालिकाको ४५औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ५० करोड २० लाख १ हजार रुपैयाँको बजेट तथा ३१३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगरसभामा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरिएको हो।

नगरसभामा नगर प्रमुख न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ का उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि विकास, पूर्वाधार, सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगरसभाका सदस्यहरुको सुझावहरू समेटेर नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरिएको जनाइएको छ।

त्यसैगरी उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड २० लाख १ हजार रुपैयाँको बजेट पेश गरिन्। प्रस्तुत बजेटमध्ये चालुतर्फ करिब १ अर्ब २ करोड ३७ लाख ६२ हजार रुपैयाँ (६८.१६ प्रतिशत) र पुँजीगततर्फ करिब ४७ करोड ८२ लाख ३९ हजार रुपैयाँ (३१.८४ प्रतिशत) विनियोजन गरिएको छ।

नगरसभामा आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा व्यास नगर ऊर्जा विकास विधेयक २०८३ समेत पेश गरिएको छ। विभिन्न समितिका प्रतिवेदन र प्रस्तावहरूमाथि छलफल जारी रहने जनाइएको छ।
नगरसभाको अर्को बैठक असार २१ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?