दमौली। व्यास नगरपालिकाको २५०औँ नियमित कार्यपालिका बैठक नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। मंसिर ७ गते सम्पन्न बैठकले नगरपालिकाका विभिन्न विकास निर्माण, सामाजिक अभियान, खेलकुद, सांस्कृतिक कार्यक्रम तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले यसअघि २०८३ कात्तिक १८ गते सम्पन्न २४९औँ बैठकका निर्णयहरूको समीक्षा गर्दै सहरी कार्यक्रम तथा सडक स्तरोन्नति कार्यक्रमलाई पुनर्विचार गरी प्रस्ताव संशोधन गर्ने निर्णय गरेको छ।
त्यस्तै, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै यस वर्षको अन्तर्राष्ट्रिय नारा “Unite to End Violence Against Women and Girls: Ensure Protection for Survivors and Impunity” तथा नेपालको राष्ट्रिय नारा “Solidarity to End Gender-Based Violence, Protect Survivors, End Impunity and Ensure Justice” लाई आत्मसात् गर्ने जनाएको छ।
अभियानअन्तर्गत मंसिर ९ गते बिहान ८ बजे उद्घाटन कार्यक्रम आयोजना गरिनेछ भने मंसिर २४ गते गोष्ठीसहित अभियानको समापन गरिनेछ। अभियान अवधिभर लैङ्गिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
यसैगरी, डिसेम्बर ३ अर्थात् मंसिर १८ गते मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समान अवसर, पहुँचयुक्त वातावरण तथा समावेशी सहभागिता सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ। यस वर्षको नारा “The CRPD at 20: Building on Progress, Advancing the Future” रहेको छ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ का विकास आयोजनाहरूको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिएको छ। हालसम्म ५९८ योजनामध्ये २८ योजना सम्पन्न भएको, १७९ वटा सम्झौता भएको तथा चालु र पुँजीगततर्फ गरी २१.९६ प्रतिशत खर्च भएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
त्यस्तै, व्यास नगरपालिकाको ४६औँ नगरसभाको अधिवेशन आगामी पुस २२ गते बुधबार बिहान ११ बजे नगरसभा कक्षमा बस्ने गरी आवश्यक प्रबन्ध मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ।
नगरपालिकाअन्तर्गत मालपोत तथा नापी कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्न पनि सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ।
बैठकले व्यास नगरपालिकाअन्तर्गतका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंसिर १६, १७ र १८ गते दमौलीमा सञ्चालन गर्न नगर खेलकुद समितिलाई निर्देशन दिने निर्णय गरेको छ।
त्यसैगरी, व्यास नगर प्रज्ञा प्रतिष्ठानद्वारा मंसिर २५, २६ र २७ गते आयोजना हुन लागेको सांस्कृतिक मेलालाई सफल बनाउन सम्बन्धित सबै सरोकारवालालाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकले व्यास नगरपालिकाअन्तर्गत अपाङ्गता कक्षमा कार्यरत कर्मचारी कृष्ण थापाका पिता मिनबहादुर थापाको २०८३ कात्तिक २६ गते भएको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?