कक्षा १२ का विद्यार्थीले बनाए विपदमा इन्टरनेट र मोबाइल नेटवर्कबिनै उद्धार माग्न सकिने ‘लाइफलाइन’ प्रणाली

काठमाडौं । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले विपद्को समयमा मोबाइल नेटवर्कबिना पनि आपत्कालीन अवस्थामा उद्धारका लागि सूचना पठाउन मिल्ने प्रणाली तयार पारेका छन् । काठमाडौं मोडेल कलेजमा कक्षा १२ मा अध्ययनरत सक्षम बास्ताकोटी, जेनिथ कँडेल र युनिग्लोब कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका सक्षम उपाध्याय मिलेर ‘लाइफलाइन’ नामको प्रणाली तयार पारेका हुन् ।

गत भदौमा रसुवामा आएको भीषण बाढीका कारण जनधनको ठुलो क्षति भइरहँँदा प्रभावित क्षेत्रसँगको सम्पर्कमा पनि समस्या भएको थियो । सो समयमा सूचना आदान-प्रदानमा भएको समस्यालाई देखेर विद्यार्थीहरूले विपद्को समयमा नेटवर्क नटिप्ने र प्रभावित क्षेत्रको सम्पर्क अन्य स्थानबाट टुट्ने समस्याको समाधान खोज्न सुरु गरेका थिए । सोही क्रममा उनीहरू ‘लाइफलाइन’ नामको आपत्कालीन उद्धार प्रणालीमा काम गर्न थालेका हुन् ।

विद्यार्थीहरूका अनुसार नेपालका अधिकांश भूभागमा केही प्रकोप हुनेबित्तिकै मोबाइल नेटवर्कको पहुँच गुम्ने समस्या देखिन्छ । भूकम्प, पहिरो, बाढी, डढेलोजस्ता विपद् आउँदा समयमै सूचना आदान-प्रदान गर्न नसकेर धेरैले समयमा उद्धार नपाएको अवस्थालाई मध्यनजर गर्दै उक्त प्रणाली तयार पारिएको उनीहरूले बताएका छन् ।

सक्षम उपाध्यायका अनुसार उनीहरूले रसुवाको बाढीपछि यस प्रणालीमा काम सुरु गरेका थिए । कलेजका सिनियरहरूले गरेको रेडियो फ्रिक्वेन्सीसम्बन्धी अनुसन्धानबाट प्रेरित भएर उक्त परियोजनामा काम गर्न थालेको उनले बताए ।

कसरी काम गर्छ लाइफलाइनले ?

विद्यार्थीहरूका अनुसार यस प्रणालीले इन्टरनेट वा मोबाइल टावरको सट्टा लामो दूरीमा काम गर्ने रेडियो फ्रिक्वेन्सी प्रयोग गर्छ । यस प्रणालीलाई स्पार्क नोड, बेस स्टेसन र कमान्ड पोर्टल गरेर तीन भागमा विभाजन गरिएको छ ।

उपाध्यायका अनुसार स्पार्क नोड मानिसले सहजै बोक्न सक्ने गरी तयार पारिएको छ । यसलाई जोखिमयुक्त ठाउँमा जडान गर्न पनि सकिन्छ । यो डिभाइस पानीमा नबिग्रने र माइनस २० डिग्री सेल्सियसको चिसोमा पनि काम गर्न सक्ने गरी बनाइएको दाबी गरिएको छ । यसको ब्याट्री एकपटक चार्ज गरेपछि सात दिनसम्म टिक्छ । आपत् परेको बेला यसमा भएको एउटा बटन थिच्नासाथ यसले मद्दतका लागि सङ्केत पठाउँछ ।

स्पार्क नोडले पठाएको सङ्केतलाई बेस स्टेसनमा राखिएको डिभाइसले टिप्छ । हाल यसले कुनै पनि इन्टरनेटबिना १५ किलोमिटर टाढासम्मको सङ्केत टिप्न सक्ने गरी विद्यार्थीहरूले प्रणाली तयार पारेका छन् । भविष्यमा यसको क्षमता बढाएर ५० किलोमिटरसम्म पुर्‍याउने उनीहरूको लक्ष्य छ । सोलार प्रणालीबाट चल्ने यी स्टेसनहरूले इन्टरनेट नभएको अवस्थामा पनि एउटा गाउँबाट अर्को गाउँमा सूचना पठाउन सक्छन् ।

यदि कुनै विपद्बाट प्रभावित गाउँमा नेटवर्क र इन्टरनेट छैन भने पनि यस डिभाइसले रेडियो फ्रिक्वेन्सीमार्फत अर्को गाउँको डिभाइसमा जानकारी पठाउँछ । यसरी एकपछि अर्को डिभाइसमा जानकारी पठाउँदै उद्धारका लागि सम्बन्धित निकायमा तत्कालै सूचना पुग्छ ।

यसरी विभिन्न बेस स्टेसनको माध्यम हुँदै ‘कमान्ड पोर्टल’सम्म आपत्कालीन उद्धारका लागि पठाइएको सूचना पुग्छ । त्यसपछि कमान्ड पोर्टलले सिधै उद्धारकर्ता वा सरकारी निकायको मोबाइल र इमेलमा अलर्ट पठाउँछ । उद्धार टोलीले घटना घटेको ठाउँको यकिन जानकारी लाइभ नक्सामा हेर्न सक्छन् र तत्काल त्यसतर्फ जान सक्छन् । यस प्रणालीमा पानीको सतह नाप्ने सेन्सर र क्यामेरासमेत जोड्न सकिने हुँदा बाढीको पूर्वसूचना दिन पनि यसले मद्दत गर्ने विद्यार्थीहरूले बताएका छन् ।

यस प्रणालीलाई स्थानीय तहसँग मिलेर हरेक गाउँमा आकारअनुसार दुई वा सोभन्दा बढी स्थानमा राख्न सकिने उपाध्यायले बताए । यसलाई स्थानीय तहको केन्द्र वा जिल्ला आदिमा रहने विपद् व्यवस्थापन केन्द्रमा सूचना पठाउने गरी राख्न सकिने उनको भनाइ छ । यो प्रणाली चौबीसै घण्टा चल्ने भएकाले बढी भरपर्दो रहने उनले सुनाए ।

हाल प्रोटोटाइपका रूपमा तयार भएको यस परियोजनालाई विद्यार्थीहरूले सरकारी स्तरमै सहकार्य गरेर अगाडि बढाउने सोच बनाएका छन् । उनीहरूले प्रत्येक गाउँपालिका वा वडामा यस्ता डिभाइसहरू जडान गर्न चाहेको बताएका छन् । एकपटक जडान गरिसकेपछि यसलाई इन्टरनेटको माध्यमबाटै ६-६ महिनामा अपडेट गर्न सकिने उनीहरूले बताए । (टेक पानाबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?