गठबन्धनमै आफूहरुलाई सहभागी गराउन प्रधानमन्त्रीसँग बाबुरामको माग

काठमाडौं: पाँच दलिय सत्ता गठबन्धनमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि सहभागी गराउन प्रधानमन्त्रीसँग बाबुरामको माग गरेको छ। आउँदो चुनावको विषयमा सहकार्य गर्ने विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको हो।

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका पाँचदलको नेतृत्वकर्ता कांग्रेस सभापति समेत रहेका देउवा र भट्टराईबीच गठबन्धनमा जाने बारेमा छलफल भएको हो।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल समाजवादी पार्टी पनि सहभागी गराउने बारेमा सोचिरहेको र गठबन्धनको बैठकमा एकपटक सल्लाह गर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ।

जवाफमा भट्टराईले गठबन्धन बनाउन आफ्नो पनि ठूलो भूमिका रहेको स्मरण गराउँदै आफ्नो पनि हक लाग्ने बताए। केही दिनमा फेरि छलफल हुने बताइएको छ। सत्ता गठबन्धनमा रहेको जनता समाजवादीबाट फुटेर केही सातायता मात्र नेपाल समाजवादी पार्टी गठन भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा भट्टराईसँगै नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए। सत्तारुढ गठबन्धनमा नेपाल समाजवादी पार्टी समावेश भएमा ६ दल बन्ने छ। साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा आबद्ध गराउने सत्तारुढ गठबन्धनको प्रयास छ।

यसअघि सत्ता गठबन्धनको बैठकले पाँच दलका नेताहरू सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदलको बैठक बस्नुअघि नेताहरूले पार्टीको रणनीति तयार गर्न आन्तरिक छलफल भने अघि बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?