
काठमाडौं : फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरमाथि ५–२ को सानदार जित निकालेको छ। पिएसजीको जितमा नेइमारले २ तथा केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गरे। अर्को गोल पिएसजीले उपहार पाएको थियो।
खेलको ३९ औं मिनेटमा मोन्टपिलरका साक्कोको उपहार गोलबाट अग्रता लिएको थियो। त्यसअघि एम्बाप्पेले खेलको २३ औं मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अग्रता लिने अवसर गुमाएको थियो। पिएसजीले ४३ औं मिनेटमा अग्रता दोब्बर पार्यो।
नेइमारले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा टोलीलाई २-० ले अघि बढाए।
दोस्रो हाफको सुरूमै ५१ औं मिनेटमा अर्को गोल थप्दै नेइमारले अग्रता अझ फराकिलो बनाए। तर त्यसको केही समयपछि मोन्टपिलरका खाज्रीले ५८ औं मिनेटमा गोल गर्दै अग्रता कम गरे।
केलियन एम्बाप्पेले ६९ औं मिनेटमा टोलीका लागि चौथो गोल गर्दा पिएसजी ४-१ ले अघि बढ्यो।
त्यसपछि ८७ औं मिनेटमा रेनातोले गोल गर्दै अग्रता ५-१ मा पुर्याए। तर इन्जुरी समयमा चातो एमबियीले गोल गर्दै ५-२ मा खेल सकाए।
यो जितसँगै लगातार दुई जितबाट ६ अंकसहित पिएसजी शीर्ष स्थानमा कायमै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?