उम्मेदवार भोट माग्दै गाउँमा, जनता खेतबारीमा

दमौली । यतिबेला कृषकलाई धान पाक्न थालेपछि बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म धान तथा मकै खेतबारीमा व्यस्त हुने भएपछि उम्मेदवार भोट माग्दै घरदैलोमा पुगेका छन् तर घरमा कोही नभेटिएपछि उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवारहरुले  किसान खेतबारीमा व्यस्त देखेपछि धान झटनमा सघाउँदै भोट माग्न थालेका हुन् ।

तनहुँ क्षेत्र नं २  सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका  शंकर भण्डारी र प्रदेशसभा (क)का  उम्मेदवार  नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपाने लगाएत निर्वाचन प्रचार–प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

जिल्लास्तर, दुवै क्षेत्र १ र २ मा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?