पोखरा : पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो ।
पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।
तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो ।
अनुगमनका क्रममा मेयर आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनीसमेत दिएका थिए ।
पोखरामा २ सय ५० भन्दा बढी भवन अन्डरग्राउन्ड सहितका छन् । तर, त्यसमध्ये अहिले आधाभन्दा बढीले महानगरको सूचना पछि आफैं अन्डरग्राउन्डमा बनेका संरचना हटाइसकेका छन् । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपसम्म सञ्चालनमा छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?