दमौली : आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको ५ औं संस्करण पुस २२ देखि हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा बिगत ४ वर्षदेखि तनहुँको दमौलीमा हुँदै आएको आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको ५ औं संस्करण आगामी पुसको २२ गतेदेखि माघ ३ गतेसम्म हुने दमौलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सवमा करिब २ सय ३० स्टल रहने आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदले जनाएको छ । हालसम्म केहि स्टल बुकिङ भइसकेको परिषदले बताएको छ ।
परिषद्का अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
त्यस्तै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको लोक दोहोरी, पप, हास्य कलाकारहरुको प्रस्तुति रहने आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष सुजित हिराचनले जानकारी दिए । महोत्सवमा वाल उद्यान, खाना महोत्सव , विभिन्न जात जातिहरुको मौलिक साँस्कृतिक लगाएत अन्य विशेष आकर्षणको रुपमा रहने उनले बताए ।
समग्र तनहुँको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेस्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । महोत्सवको पनि महोत्सव बनाउने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं ! भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने मूल नाराका साथ सुरु हने महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
महोत्सवमा करिब ३ करोड बराबरको आर्थिक कारोवार हुने र करिब ७३ लाख खर्च हुने अनुमान गरिएको परिषद्का अध्यक्ष सुजित हिराचनले बताए ।
महोत्सव प्रवेशका लागि ७० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ टिकटदर तोकिएको छ । बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेश दिइने उनले बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?