दमौली : तनहुँको व्यास नगरपालिका-३ निवासी समाजसेवी स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसका दिन शनिबार रु.एक लाख १० हजारको अक्षयकोष स्थापना गरेको हो ।
उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई छोरा सुमन भट्टराई र बुहारी यमुना भट्टराई हस्तान्तरण गरेको हुन् ।
पत्रकारिता क्षेत्रमा टिकाइरहन प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमनले बताए । “बुवा समाजसेवामा लागिरहनुभएको अवस्थामा नै स्वर्गवास हुनुभयो । त्यसैले जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं । समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न गर्नेछौं”, सुमनले भने।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताए । यसले पत्रकारलाई खोजी र तथ्य परक समाचार संकलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उनको भनाई छ ।
महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताए।
पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराई परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान अध्यक्ष पौडेलले बताए।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?