
काठमाडौं : आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक समृद्धिलाई अबको मूल लक्ष्य बनाउनुपर्ने बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् ।
दिवसका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना व्यक्त गरेका छन् । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शुभकामना दिँदै राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?