
काठमाडौं : स्न्यापच्याटले मासिक ७५ करोड सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको छ । बिहीबार एक ब्लग प्रकाशित गर्दै कम्पनीले मासिक सक्रिय प्रयोगकर्ताको नयाँ कोशेढुङ्गा पार गरेको जानकारी दिएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा भने मासिक दुई अर्ब ९६ करोड र दैनिक २ अर्ब सक्रिय प्रयोगकर्ता रहेका छन् । यो सङ्ख्यालाई हेर्ने हो भने स्न्यापच्याटको प्रयोगकर्ता सङ्ख्या निकै कम हो ।
कम्पनीका अनुसार यो प्लेटफर्ममा तीन चौथाई प्रयोगकर्ता १३ वर्षदेखि ३४ वर्ष उमेर समूहका छन् । जहाँबाट दैनिक पाँच अर्ब स्न्याप लिइन्छ ।
स्न्यापच्याटको प्रिमियम फिचरमा सार्वजनिक भएको सात महिनामा २५ लाख बढी नयाँ प्रयोगकर्ता जोडिएका छन् । साथै मासिक ३० करोड बढी प्रयोगकर्ताले स्न्याप म्याप प्रयोग गर्ने गरेको कम्पनीले उल्लेख गरेको छ ।
यसो त स्न्यापच्याटका लागि सन् २०२२ पछि केही राम्रा सङ्केत देखिएका छन् । त्यसअघि सन् २०२१ र २०२२ को बीचमा कम्पनीको स्टक ८० प्रतिशतले घटेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका थिए । त्यही समयमा कम्पनीले एक हजार तीन सय जनालाई जागिरबाट समेत निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?