दूधको मूल्य लिटरमा नौ रुपैयाँले बढ्यो

काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ । आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य रु नौ बढाइएको जनाएको हो । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ हुने भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो ।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ । यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगञ्ज क्षेत्रमा रु ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर रु दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६।५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?