स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

दमौली  : तनहुँको व्यासनगरपालिका स्थित भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।

त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको निर्वाचन प्रवन्ध संयोजक विजय खनालले जानकारी दिए ।

उनका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ ।

आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् ।

गत फागुन १९ गते निर्वाचनका लागि क्याम्पसमा ७ वाट विद्यार्थी सङ्घ सङ्गठन दर्ता भएका छन् । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म  क्याम्पसमा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?