जोशीका छोराको दाबी- तनहुँ १ मा स्वर्णिमको नाममा कांग्रेस नै गोविन्द भट्टराईलाई हराउन खोज्दैछ

दमौली : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कांग्रेस नेतृत्व साँच्चै दाजु, भाउजू, देवर र उनका आसेपासेबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन्।

कांग्रेस अहिले बिपीको पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरूको पार्टी भएको उनको आरोप छ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगत ३३ वर्षमा जसले नेपाली कांग्रेस बनाउन आफ्नो जीवन समर्पण गरे उनीहरूलाई नै कांग्रेसले जालझेल गरेर पाखा लगाउने काम गर्‍यो। अहिले चुनावको मुखमा आएर तनहुँ जिल्लामा जुन जुन रणनीति तयार गरिएको छ यो सबै हात्तीको देखाउने दाँत मात्र हो। खासमा नेपाली कांग्रेस आफैँ गोविन्द भट्टराईलाई जिताउन चाहँदैन।’

पार्टी भित्रकाहरुका व्यक्तिगत अहंकार र व्यक्तिगत स्वार्थको लागि वैशाख १० को उपनिर्वाचनमा स्वर्णिम वाग्लेलाई हराउने नाममा भट्टराईलाई नै बलिको बोको बनाउने तयारी गरेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘पार्टी भित्रका केही व्यक्तिको इच्छा गोविन्द भट्टराईलाई कसरी जिताउने भन्दा पनि जसरी भए पनि स्वर्णिम वाग्लेलाई हराउने रहेको छ। त्यसको लागि पार्टीले जे पनि गर्न तयार रहेको बुझिन्छ। नेपाली कांग्रेसको यो घृणित राजनीतिले कांग्रेसको अस्तित्व नै धरापमा पारेको छ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, मोहन बस्नेतलगायतले कुरा गरेपनि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीलाई ढिक्का बनाउन सहमत नआएको उनको दाबी छ।

बुधवार नेता जोशीले कांग्रेससँग सहकार्य लागि भएको संवाद अन्त्य भएको घोषणा गरेका थिए। देउवाले केन्द्रीय सदस्यको मात्रै प्रस्ताव गरेपछि जोशी समूहले आफ्नो समूहलाई सम्मानजनक भूमिका नदिने देखेपछि सहकार्य हुन नसक्ने निष्कर्ष निकालेको थियो।

कांग्रेसले वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर जोशीको कारबाही फुकुवा गरेको थियो। तनहुँ १ मा हुने उपनिर्वाचनमा कांग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र एमालेबाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?