
दमौली : तनहुँ क्षेत्र नं १ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोलटोलमा पुगेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो ।
कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् । कांग्रेसले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि केन्द्रीय सदस्य शंकर भण्डारी सहितका शीर्षनेता केन्द्रित भएका छन् ।
दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । उनका अनुसार केन्द्रीय सदस्य, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो ।
उनका अनुसार उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापा आएर फर्किएका छन् । उनी फेरि आउने कार्यक्रम छ । केन्द्रीय उपसभापति धनराज गुरुङ, नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल र प्रकाशमान सिंह कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।
केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, एकीकृत समाजवादीका नेता एवं सांसद किसान श्रेष्ठ यहाँ खटिएका छन् । जिल्ला सचिव खनालका अनुसार बाहिरी जिल्लाबाट आएकालाई सङ्गठित गर्ने काममा समेत केन्द्रीय नेता जुटेका छन् ।
केन्द्रीय नेता नै टोल–टोलमा पुगेर भोट माग्ने काममा खटिएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका अन्य घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तथा पार्टीका जिल्लाका नेता पनि चुनावी अभियानमा जुटेको सचिव खनालले बताए ।
एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने विगत एक महिनाभन्दा बढी समयदेखि जिल्लामा खटिएका छन् । ‘मिसन ग्रास रुट’को जिल्लाको नेतृत्व गरेर आएका उनी चुनावी अभियानमा टोल–टोलमा पुगेका छन् ।
पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल , सदस्य भगवती न्यौपाने, सल्लाहकार एक बहादुर राना, किरण गुरुङ, राम बहादुर गुरुङ लगायतका नेता यहाँ खटिएका छन् । अन्य नेता पनि चुनावी अभियानका लागि यहाँ आउने जानेक्रम भइरहेको छ ।
रास्वपाका सहमहामन्त्री कविन्द्र वुर्लाकोटी तनहुँ उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोलटोलमा सहितका केन्द्रीय नेता यहाँ चुनावी अभियानमा जुटेका छन् । जिल्ला सभापति विकास सिग्देलका अनुसार चुनावी संयोजक एवं पार्टीका सहमहामन्त्री वुर्लाकोटी, चुनावी परिचालन संयोजक विश्वनाथ बास्तोला गायतका नेता यहाँ चुनावी अभियानमा जुटेका छन् । सिग्देलका अनुसार अन्य पार्टीका नेता एवं सांसद सोबिता गौतम, सन्तोष परियार, डा.तोसिमा कार्की, हरि ढकाल, दीपक बोहोरा आउने जाने भइरहेको छ ।
राप्रपाका केन्द्रीय कोषध्यक्ष निलकण्ठ काफ्ले केन्द्रीय सदस्य गौ कुमारी श्रेष्ठ, जिल्ला अध्यक्ष बिनोद घर्ती गायतका नेता यहाँ चुनावी अभियानमा जुटेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो ।
यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले सहित ९ उमेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?