काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष खेर फाल्ने छुट कसैलाई नभएको बताएका छन्।
मंगलबार तनहुँमा आयोजित उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने, ‘म चाहन्छु, यो ५ वर्ष खेर नजाओस्। यसका निम्ति गोविन्द भट्टराई हामीलाई चाहिएको छ। संसद्मा बसेर काम गर्छौं। हाम्रै सरकार हुन्छ।’
उनले सरकारलाई खबरदारी गर्ने काम आफूहरू गर्नेमा विश्वस्त हुन आग्रह गरे।
चाहे प्रचण्ड प्रधानमन्त्री भए पनि, माधव नेपाल अथवा शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि सरकार आफ्नै हुने उनले टिप्पणी गरे।
उनले भने,‘मैले त प्रधानमन्त्री नै हुन खोजेको हेर्नुहोस्। अलिकति भोट पुगेन। प्रधानमन्त्री भएरै काम गर्थें। अब जो प्रधानमन्त्री भएपनि सरकार हाम्रै हो।’
उनले प्रत्येक दिन ३ हजार नेपालीहरूले नेपाल छोडेर विदेश जानु पर्ने बाध्यता भएको बताए। थापाले हरेक कुरामा परनिर्भर हुनु परेको बताए। उनले अबको सरकाले मान्छे होइन, सामान विदेश पठाउँछु भन्न सक्नुपर्ने उल्लेख गरे।
सांसद रहेका थापाले असफल हुने छुट कसैलाई नभएको बताए। प्रधानमन्त्रीदेखि मन्त्रीहरूले मुलुकमा महाविपत्ति आएको बेला गम्भीर भएर काम गर्नु पर्ने थापाको भनाइ छ।
सरकारले छिटो–छिटो गति दिनु पर्ने थापाले बताए। उनले स्थानीयदेखि केन्द्र सरकारसम्मले त्यसबारे गम्भीर भएर काम गर्नुपर्ने सुझाए।
उक्त कार्यक्रममा अर्को महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, शंकर भण्डारी, ध्रुव वाग्ले लगायत नेताहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?