दमौली : तनहुँ–१ कांग्रेसको गढकोरूपमा चिनिन्छ । गएको मङ्सिरमा भएको चुनावमा वर्तमान राष्ट्रपति एवम् कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार तीन सय १३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार नाै सय २५ मत ल्येएका थिए । त्यस बेला कांग्रेसका बागी तथा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८ मत र रास्वपाका विकास सिग्देलले छ हजार ३२ मत ल्येएका थिए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थ विज्ञकोरूपमा परिचय बनाएका स्वर्णिम वाग्ले कांग्रेस छोडेर उम्मेदवार बनेपछि अहिले भने यहाँको अवस्था भिन्न छ । युवा नेतृत्वको चर्चा चलिरहेको तथा वैकल्पिक शक्तिको उदय हुनुपर्छ भनेर आफूलाई चिनाइरहेको रास्वपाबाट उम्मेदवार बनेका कारण पनि वाग्लेको पक्षमा वातावरण राम्रो बनेको छ । तर टिकट नदिएका कारण कांग्रेस त्यागेको तथा पहिले राम्रो अवसर दिँदा दिँदै पनि कांग्रेस छोडेको भन्ने आरोपका कारण वाग्लेलाई सोचेजस्तो सहज भने छैन ।
यस क्षेत्रमा कांग्रेसका तर्फबाट युवा नेता गोविन्द भट्टराई उम्मेवार छन् । स्थानीय क्षेत्रमा भिजेका नेताको परिचय बनाएका भट्टराईलाई माओवादी र समाजवादीले पनि समर्थन गरेका कारण जित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू तथा पार्टी र गठबन्धन दलका अन्य नेताहरू पनि भट्टराईलाई मत माग्न तनहुँ आएर कोणसभा गर्दै कांग्रेसको पक्षमा वातावरण बनाएका कारण कांग्रेस विजयी हुनेमा आश्वस्त देखिन्छ । त्यसमा कांग्रेसको गढकोरूपमा पनि परिचित भएका कारण तनहुँ–१ मा यस पटक पनि आफूहरूकै जित हुनेमा कांग्रेसका नेता कार्यकर्ता ढुक्क देखिन्छन् ।
एमालेका तर्फबाट पूर्व प्रहरी निरीक्षक सर्वेन्द्र खनाल उम्मेदवार छन् । उनले पनि प्रचार अभियानलाई तीव्रता दिएका छन् । यस क्षेत्रमा आफूहरूको पनि राम्रो पकड रहेको भन्दै एमाले नेताहरू खनालकै जित हुने दाबी गर्छन् ।
अहिलेसम्म कांग्रेसका बागी नेताकारूपमा परिचित गोविन्दराज जोशीले कसलाई सहयोग गर्ने भन्ने खुलेको छैन । जोशीसँग प्रायः सबै उम्मेदवारले भाेट मागे पनि कांग्रेसको बागी मतकारूपमा उनले रास्वपालाई सघाउने आँकलन गरिएको छ ।
उज्यालो अनलाइनबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?