व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । 

नगरपालिकाभित्रका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडालाई पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको  स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । 

नगरपालिकाभर ०–५९ महिना उमेर समूहका ३ हजार ४ सय १९ जना बालबालिका रहेकोमा ३८ जना खोप लगाउनबाट छुटेका थिए । जसमा एक जना बालकले कुनै पनि खोप नलागएको र ३७ जना आंशिक रुपमा बञ्चित रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङलेजानकारी दिइन् ।  उनका अनुसार छुटेका मध्ये १ र २ का ५/५ जना, ३ र ४ को एक/एक जना, ५का १० जना, ७ का ३ जना, १० र ११ का ३/३ तथा १२ का ८ जना रहेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध छ,’ उनले भने । 

जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?