
पोखरा : गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै छ । आज दिउँसो २ बजे बस्ने प्रदेश बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका छ
सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै बजेट ल्याउने गरिन्छ । प्रदेशले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।
आइतबार प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई आत्मसात् गरेर बजेट ल्याइन्छ ।
बजेट ल्याउनु १५ दिनअघि नै पूर्व बजेट छलफल प्रदेश सभामा गरिन्छ । यसअघि आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरिएको थियो । बजेटको सिद्धान्त र प्राथमिकतामाथि जेठ १४ र १६ गते छलफलपछि पास भएको थियो ।
आगामी वर्षका लागि ल्याइने बजेटको आकार घटाउने तयारी प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपालि भने त्यो भन्दा कम बजेट आउने संकेत देखिन्छ । संघीय सरकारले नै अनुदानहरू घटाएर पठाइसकेको हुँदा प्रदेश सरकारको आउँदो बजेट चालुभन्दा कम हुने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?