मुग्लिन : सुक्खा पहिरोका कारण आज दिउँसोदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड रातभर पनि नखुल्ने भएको छ । पहिरोको जोखिमलाई मध्यनजर गर्दै भोलि विहान मात्रै पहिरो पन्छाउने काम गरिने भएपछि रातभर सडक नखुल्ने भएको हो ।
इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउसो १ः२० बजेदेखि सडक बन्द भएको थियो । दिउँसो केहीबेर पहिरो पन्छाउने काम भए पनि पहिरो खस्ने क्रम नरोकिएपछि सडक पूर्ण रुपमा अबरुद्ध रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।
उनका अनुसार अहिलेपनि सुख्खा पहिरो खसिरहेको छ । आजका लागि पहिरो पन्छाउने काम नहुने र भोलि विहान अवस्था हेरेर पन्छाउने काम गरिने तामाङले बताए ।
अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा परेका छन् । अहिले काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?