व्यास जन्म भूमिको प्रचारका लागि महिने हिन्दू महामिलन पर्व हुने

दमौली : व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुन लागेको हो ।
विहिवार दमौलीमा पत्रकार सम्मेलन गर्दै महामिलन पर्व आउँदो कात्तिक १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिए । 
कार्तिक १ गते नेपाल  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ डा. भक्त राईको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन हुने उपाध्यक्ष अधिकारीले बताए।व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरुको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने उनले बताए ।
उक्त कार्यक्रममा कार्तिक १६ गते संस्कृति विद डा.जगमान गुरुङ, कार्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी १००८ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । साथै छिमेकी राष्ट्र भारतबाट एक सय आठ जना साधुहरु पनि उपस्थिति रहनेछ।एक महिनासम्म ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध, शिख र जैनलाई एकै ठाउँमा भेला भई धार्मिक अनुष्ठान र प्रवचन गराउने उनले बताए ।व्यासका अध्येता काशीनाथ न्यौपानेले वैदिक सनातन धर्म भित्र ओमकार परिवारको एकता आवश्यक रहेको बताए । हिन्दु, बौद्ध, शिख र जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय भएको चर्चा गर्दै न्यौपानेले सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने बताए ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महशुस गरिएको व्यास नगरपालिका प्रथम नगरप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार तारा प्रसाद श्रेष्ठले बताए । उनले भने, ‘पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।’

प्रतिष्ठानका महासचिव ऋषिराम ढुंगाना लगायतले महामिलन पर्वले नेपालको हरेक जिल्लामा व्यास भूमिको चर्चा हुन थालेको र वेद अनुयायीहरुको संख्यामा पनि वृद्धि भएको बताए । बिगत ७ वर्ष देखि निरन्तर एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व आयोजना गर्दै आएको प्रतिष्ठानका अन्जनराज न्यौपानेले बताए ।

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाई व्यक्त गरेका थिए ।

करिव ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?