धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महशुस गरिएको व्यास नगरपालिका प्रथम नगरप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार तारा प्रसाद श्रेष्ठले बताए । उनले भने, ‘पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।’
प्रतिष्ठानका महासचिव ऋषिराम ढुंगाना लगायतले महामिलन पर्वले नेपालको हरेक जिल्लामा व्यास भूमिको चर्चा हुन थालेको र वेद अनुयायीहरुको संख्यामा पनि वृद्धि भएको बताए । बिगत ७ वर्ष देखि निरन्तर एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व आयोजना गर्दै आएको प्रतिष्ठानका अन्जनराज न्यौपानेले बताए ।
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।
व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाई व्यक्त गरेका थिए ।
करिव ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?