विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

काठमाडौं : फिफा विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘एच’ अन्तर्गतको खेलमा आज राति साढे ९ बजे अल मेकटाउन स्टेडियममा खेल सुरु हुनेछ।

समूह ‘एच’ मा रहेको नेपालले विश्‍वकप र एसिया कपको छनोटका लागि बहराइन, यूएई र यमनसँग होम एन्ड अवेमा प्रतिस्पर्धा गर्नुपर्नेछ। समूह ‘एच’ मा रहेको यूएई सबैभन्दा माथिल्लो वरीयताको टोली हो। उसो त समूहका सबै टोलीको फिफा वरीयता नेपालको भन्दा माथि छ। यूएई ६९ औं, बहराइन ८३ औं र यमन १५६ औं स्थानमा छन्।

अघिल्लो वर्ष विश्‍वकप विजेता अर्जेन्टिनासँग समेत खेलेको यूएईले पछिल्ला ६ खेलमा हार ब्यहोरेको छैन। लेबनान, कुवेत, कोस्टारिका र थाइल्याण्डलाई हराएको यूएईले ताजकिस्तान र कतारसँग बराबरी खेलेको थियो।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसेल यूएई बलियो टोली भएको भन्दै नेपालले त्यही अनुरुप तयारी गरेको बताए।

‘हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ। त्यसैले यो टोलीमा जोश छ। प्रशिक्षकको रुपमा मेरो टोलीले धेरै बलिया टोलीहरुसँग खेलेको मसँग अनुभव छ,’ भेन्सेन्जोले खेलको पूर्वसन्ध्यामा प्रिम्याच कन्फ्रेन्समा भने, ‘त्यसैले बलिया टोलीहरुको स्तरबाट जानकार छौं। यूएई पनि राम्रो टोली हो तर डराएका छैनौं।’

उनले यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिने बताउँदै यूएईको नाम चलेको पोर्चुगीज प्रशिक्षकसँग मैदानमा आमने सामने हुँदैगर्दा उत्साहित पनि भएको बताए।

‘फिफा वरीयतामा हामी भन्दा पछाडि भए पनि नेपाललाई हामी सजिलो टोली रुपमा लिनेछैनौं। कुनै पनि प्रतिद्वन्दीलाई कम आँक्नु पनि हुँदैन। हामी आफ्नो स्तरअनुसार नै प्रदर्शन गर्नेछौं,’ उनले भने, ‘हामीले लामो तयारी गरेका छौं। हामीले नेपालविरुद्ध स्पष्ट तीन अंक जोड़नलाई खेल्नेछौ। हामी समूहमा उत्कृष्ट हुने प्रयासमा छौं।’

विश्‍वकपको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओसलाई होम र अवे गरि समग्रमा २-१ गोलको जित निकाल्दै समूह चरणमा स्थान बनाएको थियो। दोस्रो चरण विश्‍वकप छनोटका साथसाथै एसिया कप छनोटका लागि पनि उत्तिकै महत्वपूर्ण छ।

यो चरणमा ९ समूहका विजेता र उपविजेताले विश्‍वकपका लागि अर्को चरणमा स्थान बनाउने छन्। सँगसँगै साउदी अरेबियामा २०२७ मा हुने एसिया कपमा सिधै स्थान बनाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?