दमौली : सरस्वती थापाले स्वास्थ्य स्वंयसेविकाको काम थालेको ३० वर्ष भयो । थापाले घरदैलोमै पुगेर महिला तथा बालबालिकाको स्वास्थ्यको लागी स्वास्थ्य सेवा दिन्छिन् । बिना पारिश्रमिक जीवनको आधा उमेर स्वास्थ्य स्वयंसेविकामा खर्चेकी थापालाई गाँउघरमा स्थानियले डाक्टर समेत भनेर बोलाउँछन् ।
उनि मात्र होइन व्यास ३ की सरस्वती न्यौपानेले पनि स्वास्थ्य स्वयंसेविकाको काम थालेको ३१ वर्ष भयो । उनले पनि आफ्नो जीवनको आधा उमेर स्वास्थ्य स्वयंसेविकामा खर्चेकी छन् । उनि जस्तै उमेरले ६० वर्ष पुरा भएका ८ जना स्वास्थ्य स्वयंसेविकालाई व्यास नगरपालिकाले प्रोत्सान स्वरुप ३५ हजार रकम र सम्मानपत्र सहित पछ्यौरा ओडाएर बिदाई गरेको छ ।
मंगलबार २० औं राष्ट्रिय महला स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा नगरपालिकाले ८ जना महिला स्वास्थ्य स्वंयसेविकालाई बिदाई गरेको हो । त्यस्तै कार्यसम्पादनको आधारमा १४ जनालाई उत्कुष्ट स्वंयसेविकाको रुपमा सम्मान गरेको हो ।
महिला स्वास्थ्य स्वंयसेविकाहरुको सम्मानको लागि हरेक वर्ष नगरपालिकाले प्रोत्सान रकम प्रदान गदै आएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
प्रतिव्यक्तिलाई नगरपालिकाको आन्तरिक स्रोतबाट १५ हजार र स्वास्थ्य कार्यालय तनहँुकोबाट २० हजार गरि ३५ हजार रुपैया प्रोत्सान रकम प्रदान गरेको हो । बिदाई कार्यक्रममा बोल्दै स्वास्थ्य स्वंयसेविका अध्यक्ष मायादेवि सोतीले सेवाको भावना सहित विना पारिश्रमिक धेरै महिला स्वंयसेविकाले आफनो जीवनको आधा उमेर स्वास्थ्य क्षेत्रमा बिताएको बताईन् ।
उनले भनिन्,“गाउँघरमा हामीलाई डाक्टर भनेर सम्बोधन गर्छन्, हामी बिना स्वार्थ स्वास्थ्य क्षेत्रमा आफनो समय दिएर काम गरेका छौं । ” कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख ईन्दिरा दरैले महिला स्वास्थ्य स्वंयसेविकाको भूमिका महत्वपूर्ण रहेको बताईन् ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान स्वरुप विभिन्न कार्यक्रम ल्याईने बताए ।
सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका कार्यक्रमको संयोजक समेत रहेकी उपप्रमुख दरैको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास ६ का वडा अध्यक्ष जीवन गुरुङ, व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ,वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक कल्पना कोईराला दाहाल, स्वास्थ्यकर्मी सागर तिवारी लगायतले बोलका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?