दमौली : पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी- ४ वेनीटारबाट शनिबार निषेधित लागुऔषध सहित फरक-फरक समयमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-८ घर भएका वर्ष २३ को आशिष पाण्डे, १९ वर्षीय आश्विन पाण्डे र आँबुखैरेनी- १ बरादी बस्ने बर्ष २३ को सनिस गुरुङ रहेका छन्।
पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागि खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २० प ५४९९ नं. को मोटरसाइकललाई जाँच गर्ने क्रममा आशिष र आश्विनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।निजहरुको साथबाट ९०० ट्याब्लेट निषेधित औषधि बरामद गरिएको छ ।
त्यस्तै सोही ठाउँमा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ४३०९ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा बरादीका सनिस गुरुङ पक्राउ परेका छन् । उनको साथवाट ट्रामाडोल लेखिएको ९ पत्तामा जम्मा २७० ट्याब्लेट बरामद गरिएको छ ।
निजहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको निर्णय अनुसार आवश्यक कारवाहीका लागि औषधि व्यवस्था बिभाग बिजुलीवजार पठाइएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?