दमौलीमा हल्का वर्षा

दमौली : तनहुँको सदरमुकाम दमौलीमा बिहान हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दमौली सहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?