दमौली :तनहुँको व्यास नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिका बीच मितेरी सम्बन्ध जोडिएको छ । समृद्धिका लागि संगसंगै भन्ने नारा सहित व्यास र ठाकुरबाबा नगरपालिकाले मितेरी सम्बन्ध स्थापनार्थ सम्झौता पत्रमा मङ्गलबार आदानप्रदान गरेर सम्बन्ध जोडेका छन् ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले दुई नगरपालिकाको मितेरी सम्बन्धले विकासको क्रममा उत्तरदायित्व र कर्तव्य बिर्सन नहुने बताए । धनी र गरीब बीचको दुरी घटाउने प्रयास गर्नुपर्ने उनले बताएका छन् । सामाजिक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र पर्यटन क्षेत्रको विकासलाई नगरपालिकाले जोड दिएको उनको भनाइ छ ।
पहाड र समथर क्षेत्रको खानपिन, उत्पादित वस्तुको आदानप्रदानमा सहज हुने उनले बताए । व्यापारिक समन्वयमा मितेरी सम्बन्धले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उनले विश्वास लिए । ठाकुरबाबा नगरपालिकाले चीनको क्विचिन्वाओ नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरिसकेको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सद्भाव र मित्रता कायम राख्ने प्रतिबद्ध रहेको बताए । उनले जातीय, संस्कृति र राजनीतिक विभेदका कारण विचलन सिर्जना हुने अवस्था रहेकोले त्यसलाई न्यूनीकरण गर्ने जिम्मेवारी पालिकाले पाएको बताए । बर्दियाका कला, संस्कृति एकापसमा जिल्लाका तथा नगरपालिकाको जातीय विविधताको प्रवर्द्धन गर्ने प्रयासरत हुने उनको भनाइ छ ।प्लास्टिकमुक्त नगर बनाउने लक्ष्यका साथ कार्यहरू अगाडि बढिरहेको उनले बताए । पारदर्शिता कायम राख्न सके सधैं विश्वास गर्न सकिने उनले बताए ।
व्यास नपा उपप्रमुख मिरा जोशीले अध्यायन गर्ने क्रममा बर्दियाको अध्ययन र अवलोकन गर्ने अवसरले काम गर्न सहज बनाउने बताइन् । व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले फोहोर व्यवस्थापनका लागि छाडा बस्तुको व्यवस्थित बनाउदै अगाडि बढेको बताए ।दुई नगरपालिका बीच भएको मितेरी सम्बन्धले गण्डकी र लुम्बिनी प्रदेशको नजिक बनाउने अपेक्षा गरिएको छ । मितेरी सम्बन्ध पारदर्शी बनाएर दुई प्रदेशको नगरपालिकाको रिति, संस्कृति र परम्परा साटासाट तथा पर्यटकीय प्रवर्द्धनमार्फत समृद्ध बनाउन टेवा पुग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?