इतिहास रच्दै नेपाल सेन्ट्रल जोनको च्याम्पियन

साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । उज्वेकिस्तानलाई पराजित नेपालले गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५ र १५– १० ले जित्न सफल भयो ।

नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

नेपालले पहिलो सेटमा एक समय १२–१७ ले पछि रहेको नेपालले पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि नेपालले लगातार अंक गुमाउँदा खेल एक समय २१–२१ को बराबरीमा पुगेको थियो । त्यसपछि नेपालले तीनपटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल थियो ।

दोस्रो सेटमा पनि कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो । दोस्रो सेटमा  भने लय गुमाएको नेपाल १९–२३ ले पछि परेको थियो । उज्वेकिस्तानले ले आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा भने  सुरुवातमा प्रतिस्पर्धा हुदा ११–११ को बराबरीबाट अग्रता लिदै लगातार ७ अंक जोडेपछि नेपालले १८–११ ले अघि बढ्दै जिततर्फ अग्रसर बन्यो । त्यसपछि नेपालले थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्न सफल भयो ।

च्याम्पियनसिपमा नेपालका लागि कृपा अधिकारी, मनिषा चौधरीले पूनरागमनसहित खेल्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले राष्ट्रिय टोलीमा डेब्यु गरिन् । यसपटक नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेल्दा १८ सेटमा जित र ३ सेटमा हारको नतिजा निकाल्यो । नेपालले श्रीलंकासँग २ तथा उज्वेकिस्तानसँग एक सेट गुमाएको थियो ।

श्रीलंकाले भने यसअघिको खेलमा  किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने प्रावधान रहेको थियो ।

तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग खेल्दै

नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरूषतर्फ भने आज नेपालले तेस्रो  स्थानको लागि उज्वेकिस्तानसँग खेल्ने भएको छ। खेल केहीबेरमा  सुरु हुनेछ ।

नेपालले लिग चरणमा उज्वेकिस्तान ३–१ को सेटमा तथा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । बंगलादेशसँग ३–० को तथा श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको थियो ।राउन्ड रोविन लिगमा उज्वेकिस्तालाई ३–१ को सेटमा हराएको नेपाल सोही जितलाई निरन्तरता दिदै कास्यपदक जितने लक्ष्यमा कोर्टमा उत्रनेछ ।

यता लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएपछि उज्वेकिस्तानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नुपरेको हो । साविकको उपविजेता उज्वेकिस्तान नेपाललाई हराउँदै कास्य जित्ने लक्ष्यमा रहनेछ ।

पुरुषतर्फको उपाधिका लागि घरेलु टोली बंगलादेश र श्रीलंकाबीच खेल हुँदैछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?