४० माईक्रोन भन्दा कम मोटाईको प्लास्टिक झोला निषेध अभियान पूर्णरूपमा कार्यान्वयन गर्न माग

व्यास नगरपालिकामा ४० माईक्रोन भन्दा कम माेटाईकाे प्लास्टिक झाेला निषेध अभियान पुर्णरूपमा कार्यान्वयन गर्न आवश्यक रहेकाे बक्ताहरूले बताएका छन् ।

उक्त अभियानलाई प्रभावकारी बनाउन पालिकाकाे टाेल, वडा, घरघरमा कार्यक्रम पुर्याउन आवश्यक रहेकाे सराेकारवालाकाे भनाइ छ। साेमबार व्यास नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखाकाे आयाेजनामा जलवायु परिवर्तनलाई न्युनिकरण गर्दै व्यास नगरपालिकाकाे वातावरण स्वच्छता सम्बन्धि वार्षिक समिक्षा कार्यक्रम मा वक्ताहरूले साे भनाई व्यक्त गरे ।

अभियानलाई सफल बनाउन सर्वप्रथम व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबाटै उक्त अभियान कार्यान्वयनमा जाेड दिनुपर्ने सराेकारवालाकाे भनाई थियाे । त्यस्तै छिमेकी पालिकासंग पनि सहकार्य गरेर अभियानलाई अगाडि बढाउनुपर्ने वक्ताहरूकाे भनाई थियाे । वक्ताहरूले ४० माईक्रोन भन्दा कम माेटाईकाे प्लास्टिक प्रयाेग निषेध गरेपछि व्यापारी एवं उपभोक्तालाई उपयुक्त विकल्प दिनुपर्ने समेत बताएका थिए । व्यवसायीलाई उपयुक्त विकल्प नहुँदा याे अभियानले साेचेअनुरूप अगाडि बढ्न नसकेकाे सराेकारवालाकाे भनाई थियाे ।

व्यास नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिति संयाेजक रनसिंह नेपालीलेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्याैपानेले नगरपालिकाले लिएकाे याे अभियान बातावरणमैत्री नगरपालिका बनाउन सुरू गरिएकाे बताए । याे अभियानमा सबै राजनीतिक दल, व्यापारी, व्यावसायी, उपभोक्ता लगायत सबैकाे सहयाेग अपरीहार्य रहेकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले वातावरण मैत्री अभियानलाई प्रभावकारी कार्यान्वयन आवश्यक रहेकाे बताए ।कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारीले जिल्ला सदरमुकामकाे पालिका सुन्दर एवं स्वच्छ हुन आवश्यक रहेकाे बताए ।

नेकपा एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी स्तरबाटै याे अभियान कार्यान्वयनमा लैजानुपर्ने बताए । नेकपा एकिकृत समाजवादीका नेता मंगलप्रसाद श्रेष्ठले याे अभियानलाई साथ दिएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा व्यास १३ का वडाध्यक्ष वसन्त बहादुर आलेले बजार अनुगमनलाई कडाईका साथ अगाडि बढाउनुपर्ने बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले कार्यक्रम राम्रो भएकाे तर व्यासायीलाई विकल्प दिएर अभियान कार्यान्वयनमा लैजानुपर्ने बताए । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खले, व्यावसायी,शिक्षक, सामाजिक व्यक्तित्वले भनाई राखेका थिए ।

व्यास नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिति संयाेजक रनसिंह नेपालीले नगरपालिकाले सञ्चालन गरेकाे ४० माईक्रोन भन्दा कम माेटाईकाे प्लास्टिक निषेध अभियान ८० प्रतिशत सफल भएकाे दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?