तनहुँ जलविद्युतले नदी तटीय क्षेत्रमा आपत्कालीन साइनबोर्ड जडान

तनहुँ — तनहुँ जलविद्युत आयोजनाअन्तर्गत आपत्कालीन विपद्‌ व्यवस्थापनका लागि नदी तटीय क्षेत्रमा साइनबोर्ड जडान  गरिएको छ।
 नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य योजनाको कार्यान्वयन स्वरूप ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमानास्थित सेती नदीको बाँधभन्दा तल्लो तटीय क्षेत्रमा बाढीजन्य सम्भावित विपद्‌को जोखिम न्यूनीकरणका लागि साइनबोर्डहरू जडान गरिएको हो।
बाढीका बेला सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ मार्गनिर्देशन गर्न तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन ‘आपत्कालीन भेला हुने ठाउँ’ भनेर चिनाइएको २२ वटा मस्टर साइनेजहरू सार्वजनिक स्थलहरूमा राखिएका हुन्।
साइनबोर्डहरू होक्सेटार, झापुटार, जिल्ला प्रशासन कार्यालय दमौली नजिक, बुद्धसिंह सडक अन्तर्गतका छाब्दी, बेलबास, बेनिकोटतर्फ जाने बाटो, कोइदिम हुँदै सुँडे पुलसम्मका विभिन्न स्थानहरूमा जडान गरिएको आयोजनाले जानकारी दिएको छ।
बाढीजन्य विपद्का बेला निर्माणमा खटिएका श्रमिक, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान सजिलो होस् भन्ने उद्देश्यले यो पहल गरिएको हो। यसले आपत्कालीन अवस्थाको सामना गर्न तयारी अवस्थामा रहन सहयोग गर्नुका साथै उद्दार कार्यमा समेत प्रभावकारिता थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?