ऋषिङ गाउँपालिकाबाट शुक्ला मावि मा रु. एक लाखको अक्षयकोष स्थापना

तनहूँ, १८ भाद्र-  स्थानीय तह निर्वाचन २०७९ बाट ऋषिङ गाउँपालिकामा निर्वाचित  जनप्रतिनिधिहरूको कल्याण कोषबाट प्राप्त रकम हस्तान्तरण गरिएको छ ।

ऋषिङ–१, झापुटार स्थित शुक्ला माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हाे। उक्त कोषअन्तर्गत एक लाख एक सय रूपैयाँ  रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि ऋषिङ गाउँपालिकाका अध्यक्ष श्री राजेन्द्रकृष्ण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आशा नेपाली र प्रधानाध्यापक केशर थापालाई उक्त रकम हस्तान्तरण गरे ।

शिक्षा नै सामाजिक रूपान्तरणको मूल आधार हो भएकाे बताउदै अध्यक्ष श्रेष्ठले विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न सामुदायिक विद्यालयलाई सशक्त बनाउन लागिपरेकाे दाबी गरे । यस अक्षयकोषले विद्यालयको गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सहयोग पुग्ने अपेक्षा लिएको उनकाे भनाई थियो ।

गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्दै आएको छ, आगामी दिनमा पनि विद्यालयको आवश्यकता अनुसार सहयोग गर्ने उनले प्रतिवद्दता समेत व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आशा नेपालीले अक्षयकोष स्थापना भएपछि विद्यालयलाई शिक्षाको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन।

उनले गाउँपालिका र जनप्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै उक्त कोषलाई पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिवद्धता जनाईन। प्रधानाध्यापक केशर थापाले विद्यालयलाई प्राप्त भएको यो सहयोगले शिक्षक र विद्यार्थी दुवैलाई प्रेरणा दिने बताए। उनले विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा यस कोष प्रयोग गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?