तनहुँ — तनहुँको ऋषिङ्ग-७, शितलडाँडामा आगामी माघमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय श्री ऋषिङ्ग युवा कल्याण क्लबले आफ्नो ३८औं वार्षिकोत्सव तथा संघीय संरचना अनुसार साविक वडा स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।
स्थानीय खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने र क्लबको वार्षिकोत्सव भव्यताका साथ मनाउने उद्देश्यले आयोजित यो प्रतियोगिता २०८२ माघ २१ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले रु १,११,१०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै द्वितीय हुने टिमलाई रु ७१,१०० र तृतीय हुने टिमलाई रु ४१,१०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष लाल बहादुर आले मगर र खेल संयोजक कुमार आलेले जानकारी दिए। यसका साथै विधागततर्फ बेस्ट प्लेयर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई जनही रु ३,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क रु ७,००० र ‘प्रोटेस्ट’ शुल्क रु ५,००० तोकिएको छ। टिम दर्ता माघ १० गतेदेखि २१ गतेसम्म खुला रहनेछ। खेल आगामी माघ २२ गते दिउँसो १:०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
खेलकुद प्रतियोगिताको साथसाथै विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने क्लबकी सचिव रचना आलेले बताइन्। प्रतियोगितामा संघीय संरचना अनुसारका साविक वडाका खेलाडीहरूले मात्र भाग लिन पाउनेछन् भने एक टिममा बढीमा ३ जनासम्म बाहिरी खेलाडी समावेश गर्न पाइने नियम बनाइएको छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?