व्यास नगर अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व

तनहुँको व्यास नगरपालिकाद्वारा सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतिष्ठित व्यास नगर अल्ट्रा म्याराथन मा नेपाली सेनाका धावकहरूले पहिलो, दोस्रो र तेस्रो तीनवटै स्थान हात पार्दै वर्चस्व कायम गरेका छन्।

४४ किलोमिटर लामो प्रतियोगितामा बझाङका करन रावलले सबैभन्दा कम समयमा निर्धारित दुरी पूरा गर्दै उपाधि जितेका छन् । विजेता रावलले नगद ८५ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरी, रामेछापका तिलक बहादुर सुनुवार द्वितीय र रामेछापकै होमलाल श्रेष्ठ तृतीय भएका छन् । उपविजेताले ६५ हजार ८२ रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्ने श्रेष्ठले ५५ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे

व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटबाट सुरु भएको म्याराथन दमौली बजार हुँदै विभिन्न वडाहरू पार गर्दै व्यास नगरपालिका–८ स्थित पुलिमराङ (सहिद पार्क) मा पुगेर समापन भएको थियो।

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने तथा सहिदहरूको योगदानको स्मरण गर्ने उद्देश्यले व्यास नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसको दिन यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका साथै विभागीय टोलीका धावकहरूको उल्लेख्य सहभागिता रहेको नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?