चुनावी प्रचारमा बालबालिका प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगका अनुसार झण्डा वा चुनाव चिह्न बोकाउने, र्‍याली, सांस्कृतिक कार्यक्रम तथा दल-विशेषको समर्थन वा विरोधमा बालबालिकालाई सहभागी गराउने, विद्यालय समयमा विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गरी अध्ययनमा अवरोध पुर्‍याउने विषयमा उजुरी प्राप्त भएका छन् ।

नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग कानुनविपरीत हुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिका प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ ।

आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले चेतावनी दिएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बालबालिकाको अध्ययन-अध्यापनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न तथा बालअधिकारको संरक्षण गर्न सबै दल, उम्मेदवार र मतदातालाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?