निर्वाचन बिदाको समयमा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनको समयमा आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगको अनुरोधपछि राष्ट्र बैंकले निर्वाचन बिदाको समयमा पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । साथै फागुन १८ गते हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वका कारण बिदा रहनेछ ।

निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी र राजस्व दाखिला सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ भने निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल र उम्मेदवारहरूको नगद, चेक वा अन्य भुक्तानी सम्बन्धी सेवा पनि निरन्तर उपलब्ध गराउन भनिएको छ ।

राष्ट्र बैंकले निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?