बन्दीपुर, २० चैत । बन्दीपुर गाउँपालिकाको आयोजनामा तथा मध्य नेपाल ब्रोडकास्टिङ प्रा.लि.को सहजीकरणमा आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका योजना, सेवा प्रवाहको प्रभावकारिता, पारदर्शिता तथा नागरिकका गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सार्वजनिक सुनुवाइमार्फत स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले गाउँपालिकाले गरेका कामकारबाहीलाई पारदर्शी बनाउन तथा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रत्येक वर्ष तीन पटक सार्वजनिक सुनुवाइ गर्ने गरिएको जानकारी दिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाका सबै ६ वटै वडामा पुगेर संकलन गरिएको नागरिक प्रतिवेदन, बहिर्गमन अभिमत, स्थानीयका समस्या, पीरमर्का तथा गुनासोहरू प्रस्तुत गरिएको थियो।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले विभिन्न विकास योजना कार्यान्वयनमा देखिएका झन्झटहरू कम गर्नुपर्ने, स्वीकृत भएका योजनाहरू समयमै कार्यान्वयन हुनुपर्ने, तीनधारामा खेलकुदका पूर्वाधार विकास गर्नुपर्ने लगायतका माग राखेका थिए। त्यसैगरी ऐलानी जग्गामा निर्माण भएका संरचनाको वैधानिकता, बन्दीपुर–३ मा निर्माणाधीन ‘आमासँग भवन’को बजेट निकासासम्बन्धी अन्योल, “एक वडा एक प्राविधिक” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषयमा समेत जिज्ञासा राखिएको थियो। यसैगरी सहभागीहरूले गाउँपालिकाबाट प्रस्तुत गरिएका विवरणहरू लिखित रूपमा वितरण गरिए अझ सहज हुने, होमस्टे सर्किट प्रवर्द्धन, मुख्य गाउँहरू जोड्ने सडक कालोपत्रे, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, विपन्न नागरिकको उपचार सहयोग तथा चिस्यान केन्द्र स्थापना जस्ता विषयमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका थिए। सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्या, विकास निर्माणका कामको गुणस्तर तथा समयमै सम्पन्न गर्नुपर्ने विषयमा प्रश्न तथा सुझाव राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी, वडा नम्बर २ का वडाध्यक्ष लोकबहादुर कुँवर, वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी तथा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सम्बन्धित विषयमा प्रष्ट पार्दै गुनासोको सुनुवाइ गरेका थिए।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य तथा समाजसेवी गोवर्धन भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य लोकबहादुर बानियाँ, नेकपा एमाले बन्दीपुर गाउँ कमिटी अध्यक्ष रवि श्रेष्ठ, नेपाली कांग्रेस बन्दीपुर गाउँ समितिका सभापति कर्ण खत्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुरका सभापति शम्भु श्रेष्ठले समेत आफ्ना सुझाव, गुनासा र धारणा राखेका थिए। कार्यक्रमको निष्कर्षमा स्थानीय तहको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम उपयोगी हुने सहभागीहरूले बताएका थिए। गाउँपालिकाले प्राप्त सुझावहरूलाई आगामी योजना तथा कार्यक्रमहरूमा समेट्ने प्रतिबद्धता समेत गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले व्यक्त गरेका थिए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?