व्यास नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर सञ्चालन

दमौली । तनहुँको व्यास नगरपालिकाले एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरेको छ। व्यास नगरपालिका–१४, केशवटारमा मंगलबार आयोजित उक्त शिविरको उद्घाटन नगर प्रमुख वैकुण्ठ न्यौपानेले गरेका हुन्।

नगर प्रमुख न्यौपानेले शिविरमार्फत स्थानीय बासिन्दालाई विभिन्न सरकारी सेवाहरू एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

शिविरमा प्रशासन शाखा तथा पञ्जीकरण एकाइमार्फत सामाजिक सुरक्षा भत्ताको कार्ड वितरण र व्यक्तिगत घटना दर्ता सेवा प्रदान गरिएको छ। त्यसैगरी, योजना शाखाअन्तर्गत योजना सम्झौता तथा किस्ता सिफारिससम्बन्धी कार्यहरू सम्पन्न गरिएको छ।

कृषि उपशाखामार्फत बालीमा देखापर्ने रोग नियन्त्रणका लागि जैविक विषादी वितरण, जनचेतना अभिवृद्धि, उन्नत तरकारी बीउ वितरण तथा कृषकलाई प्राविधिक परामर्श प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीयस्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यस्ता घुम्ती शिविरले नागरिकलाई सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?