दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन भएकी छिन्। शनिबार दमौलीमा सम्पन्न प्रतिष्ठानको ११औँ अधिवेशनले न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा अञ्जु दाहाल र अमरराज नहर्की, महासचिवमा बाबुराम सापकोटा तथा कोषाध्यक्षमा रमा वाग्ले चयन भएका छन्। त्यसैगरी, सदस्यमा शुभ पिया, तेजप्रसाद लामिछाने, भवानी अधिकारी खनाल, सुनिता बुढाथोकी र विष्णुबहादुर खड्का क्षेत्री चयन भएको निर्वाचन संयोजक अधिवक्ता चन्द्रकान्त वाग्लेले जानकारी दिए।
अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नगरपालिकाले सहयोग गर्दै आएको बताए। उनले साहित्यिक गतिविधि सञ्चालन र नयाँ प्रतिभाको प्रोत्साहनका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले साहित्यिक संस्थाहरूले नवोदित प्रतिभाको पहिचान, प्रोत्साहन र सिर्जनात्मक क्षमताको विकासमा ध्यान दिनुपर्ने धारणा राखेका थिए। उनीहरूले भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र तनहुँको साहित्यिक पहिचान विस्तारका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताए।।
सोही अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानको भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुखमा नियुक्त हुनुभएका प्रा.डा. वाग्लेलाई सम्मान गरिएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा खुवा रचना वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?