तनहुँ । छठ पर्व तथा सार्वजनिक बिदाका अवसरमा पनि तनहुँ जिल्ला अदालत अत्यावश्यक न्यायिक सेवाका लागि खुला रहने भएको छ।
जिल्ला अदालतले सूचना जारी गर्दै कात्तिक २८ गते शनिबारदेखि कात्तिक ३० गते छठ पर्वसम्म अदालत बन्द रहने भए पनि अत्यावश्यक न्यायिक कामकारबाही सञ्चालन हुने जनाएको हो।
अदालतका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ र जिल्ला अदालत नियमावली, २०७५ को नियम ५ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइका लागि अदालत खुला रहनेछ।
त्यसैगरी, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जीको अनुमति तथा जरुरी पक्राउ पुर्जी स्वीकृतिसम्बन्धी कामसमेत सञ्चालन हुने सूचनामा उल्लेख छ।
जिल्ला अदालतका अनुसार उक्त अवधिमा पर्ने शनिबारबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन दर्ता तथा सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?