शाखा अधिकृत र नायब सुब्बा पदका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनु होस् आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार लोकसेवा आयोगको परीक्षा तयारी गरिरहेका युवाहरूका लागि विशेष तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको परिषद्ले तयारी कक्षामा भाग लिन चाहने युवाहरूका लागि अनलाइन आवेदन सङ्कलन थालेको हो ।

विशेष प्राथमिकता प्राप्त युवाहरूलाई लक्षित गर्दै लोकसेवा आयोगको शाखा अधिकृत पदको प्रथम पत्र तथा नायब सुब्बा पदको तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिने परिषद्‌ले जनाएको छ । परिषद्को आ.व. २०८३/८४ को कार्यक्रम अनुसार यो तयारी कक्षा पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ ।

यो अनलाइन तयारी कक्षामा सहभागी हुन इच्छुक युवाहरूले अनलाइन प्रणालीमार्फत आवेदन फाराम भर्नुपर्नेछ । त्यसका लागि shramsansar.gov.np/loksewa-preparation मा गएर आवेदन फाराम भर्नु सकिनेछ । फाराम भर्ने अन्तिम म्याद यही मङ्सिर १८ गतेसम्म रहेको छ ।

यसअघि नै गुगल फाराम सफलतापूर्वक भरिसकेका आवेदकहरूले पुनः फाराम भरिरहनु पर्ने छैन । पूर्व आवेदकहरूको आवेदन विवरण प्रणालीमा सुरक्षित भइसकेको जानकारी दिइएको छ ।

तयारी कक्षा तथा आवेदन फारामसम्बन्धी कुनै जिज्ञासा भएमा टोल फ्री नम्बर ११४१, टेलिफोन नम्बर ०१-४२११९६३ अथवा ईमेल info@moless.gov.np तथा admin@moless.gov.np मार्फत सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?